नियम २५
स्वीकृति लिई हवाई सर्वेक्षण, नक्सा प्रकाशन आदि गर्न सक्ने

(१) ऐनको दफा ११घ. बमोजिम नेपाल सरकारका विभिन्न निकाय वा कार्यालयहरूबाट ऐन र यस नियमावली बमोजिम नाप जाँच गर्नेमा बाहेक हवाई सर्वेक्षण गर्न, नेपाल सरकारले स्थापना गरेको नियन्त्रण विन्दुहरू प्रयोग गर्न, नेपाल सरकारले तयार गरेको नक्सा प्रयोग गर्न वा विदेशमा प्रकाशित नक्सा नेपाल अधिराज्यभित्र बिक्री गर्न चाहने व्यक्तिले महानिर्देशक समक्ष निवेदन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन पर्न आएमा देहायका शर्तहरू पालन गर्ने गरी महानिर्देशकले सोको स्वीकृति दिन सक्नेछ ः–
(क) हवाई सर्वेक्षण गर्दा महानिर्देशकले तोकिदिएको क्षेत्र भित्र सिमित रहनु पर्ने,
(ख) जुन उद्देश्यले नक्सा प्रकाशन गर्न स्वीकृत लिएको हो सो उद्देश्य बाहिर गएर नक्सा प्रकाशन गर्न नहुने,
(ग) नक्सा उत्पादन गर्नु पूर्व पाण्डुलिपि (म्यानुस्क्रिप्ट) स्वीकृत गराउनु पर्ने,
(घ) जुन उद्देश्यले नियन्त्रण विन्दु प्रयोग गर्न स्वीकृत लिएको हो सो बाहेक अन्य प्रयोजनमा प्रयोग गर्न नहुने,
(ङ) नियम ३२ बमोजिमको नाप नक्सा समितिले तोकेका अन्य शर्तहरू पालना गर्नु पर्ने ।
(३) सरकारी तथा सार्वजनिक खर्चमा भएका नाप नक्सा विभागले तोकेको स्पेसिफिकेशन अनुरूप हुनुपर्नेछ ।